आठ कक्षादेखिको प्रेम, मधेसमा बिना दाइजो अन्तर-जातीय विवाह
वीरगन्ज : मधेसी समाजमा बिहेबारीको कुरा छिन्दा अभिभावकबीच सबै भन्दा पहिले दाइजोकै मोलतोल हुन्छ। केटा पक्षले दाइजोमा लिने नगदका साथै गरगहना, मोटरसाइकल, टिभी, फ्रिजलगायतका विलाशिताका सामानको सूची नै तयार पारेर केटी पक्षका सामु पेश गर्छन्। त्यसपछि दुवै पक्षबीच मोलमलाई हुन्छ।अन्तत लमीको पहलमा दुवै पक्षका अभिभावक बीच दाइजो लेनदेनको टुंगो लागेपछि मात्र छेका (टिकोटालो) र त्यसपछिका वैवाहिक कार्यक्रमको मिति तय गरिन्छ। यदि दाइजोको मोलतोलमा कुरा मिल्न सकेन भने बिहेको सन्दर्भ त्यही रोकिन्छ।
मधेसी समुदायकै बाहुल्यता रहेको वीरगन्जमा भने शनिबार एक जोडीले अभिभावकको सहमतिमै दाइजो नलिई अन्तरजातीय विवाह गरेका छन्। पर्साको पकाहामैनपुर गाउँपालिका २ मधुवनीका त्रिलोकीप्रसाद पटेल र त्यही गाउँपालिका १ धोरेकी रीना मेहताको अभिभावककै सहमतिमा बिना दाइजो अन्तरजातीय विवाह भएको हो।वीरगन्जको गीता मन्दिरमा शनिबार बेहुला र बेहुली दुवै पक्षका अभिभावकको उपस्थितिमा हिन्दु धार्मिक विधि अनुसार त्रिलोकी र रिनाको विवाह भएको हो। गाउँकै सामुदायिक विद्यालयको कक्षा आठमा पढ्दादेखि त्रिलोकी र रीनाबीच प्रेम सम्बन्ध सुरु भएको थियो।
प्रमाणपत्र तहको अध्ययन सकाएपछि डिभी परेर अमेरीका गएका त्रिलोकी हाल अमेरीकाकै कोलोराडोमा रहेको फ्रन्ट रेन्ज कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत छन्। रिना भने स्नातक तहको अध्ययन सकाएर हाल वीरगन्जको माइस्थान विद्यापिठ माविमा अध्यापनरत छिन्।
‘जब बिहेका कुरा घरमा राखे बुबा आमाले मान्दै मान्नु भएन, किनकी हामी दुईको जात फरक–फरक थियो, अझ दाइजो नलिने भनेपछि त उहाँहरुले मेरो कुरा सुन्न पनि चाहनु भएन’, शनिबार विवाहमण्डपमा भेटिएका त्रिलोकीले भने, ‘ धेरै सम्झाई–बुझाई गरेपछि मात्र उहाँहरु हाम्रो बिहेका लागि सहमत हुनुभएको हो।’
अर्को तर्फ केटा फरक जातको भएका कारण आफना अभिभावकलाई बिहेका लागि रिझाउन निक्कै संघर्ष गर्नु परेको रिनाले बताइन्। अर्कै जातको केटासँग छोरीको बिहे गरिदिँदा गाउँसमाजबाट बहिष्कृत नै हुनु पर्ने डरले मेरो बुबा–आमा पनि तयार हुनु भएन’, उनले भनिन्, ‘तर, मामा विनोद मेहताले यसमा मलाई निक्कै साथ दिनुभयो, मामाकै कारण आज हाम्रो दाम्पत्य जीवन सम्भव भएको छ।’
रिनाका मामा विनोद, रिना अध्यापनरत माइस्थान विद्यापिठ माविको प्रधानाध्यापक हुन्। उनले २०७० सालमा आफ्नै जेठो छोरोको पनि दाइजो नलिई अन्तरजातीय विवाह गराएर समाजमा उदाहरणीय काम गरेका थिए। शनिबार रिना र त्रिलोकीको बिहेपछि विवाहमण्डपमा बरबधुलाई आर्शीवाद दिँदै गरेको अवस्थामा भेटिएका त्रिलोकीका बुबा रामधारी राउत कुर्मीले भने, ‘जेठो छोराको जस्तै माइलो छोरा त्रिलोकीको पनि टन्नै दहेज लिएर बाजागाजका साथ धुमधाम बिहे गर्ने धोको थियो। तर, छोराको खुशीलाई मैले नकार्न सकिन, किनकी जीवन गुजार्ने छोरा बुहारीले नै हो, त्यसैले उनीहरुको खुशी नै मेरो पनि खुशी भयो।’
छोरालाई दाइजो बेगर त्यसमा पनि अन्तरजातीय बिहे गर्न दिएकोमा अहिले उनलाई बधाईको ओइरो लागेको छ। अहिले बधाई धेरै खाएपछि भने उनले आफूले सही निर्णय गरेको अनुभूति भइरहेको बताएका छन्। ‘मेरो छोरा बुहारीको दाइजो बेगर र अन्तरजातीय बिवाहले समाजलाई पनि फाइदा भयो भन्ने लागेको छ,’ उनले भने।
नवविवाहित दम्पतिलाई प्रदेशसभा सदस्य राजेश्वर साह तेली र पकाहा मैनपुर गाउँपालिकाकी उपप्रमुख किश्मतीया देवीले विवाहमण्डपमै आएर वैवाहिक जीवनको शुभकामना तथा बधाई दिएका छन्। बिना दाइजो अन्तरजातीय बिहे गरेका त्रिलोकी र रिनालाई शनिबार विवाहमण्डपमै सम्मानित पनि गरिएको छ।
त्रिलोकी र रिनाले दाइजो बेगर त्यसमा पनि अन्तरजातीय बिहे गरेर मधेसी समाजमा आदर्श एवम् उदाहरणीय जोडी बन्न सफल भएकाले बेहुली र बेहुलाका अभिभावकलाई सम्मान गरिएको दाइजो तथा बालविवाह विरुद्धको राष्ट्रिय अभियानका पर्सा संयोजक प्रकाश थारुले बताए।
दाइजो जस्तो कुप्रथाले जकडिएको मधेसी समाजमा पछिल्लो समय भने थोरै भएपनि बिना दाइजो बिहे गर्नेको संख्या बढ्न थालेको छ। यसअघि वीरगन्जको अलौं, परवानीपुर, बाराको गन्ज भवानीपुरमा पनि त्रिलोकी र रिना जस्तै बिना दाइजो बिहे भएका थिए
Post a Comment